दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । एमालेका तर्फबाट दैलेख क्षेत्र नं. प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्रराज शर्माले मंसिर ४ गते सम्पन्न निर्वाचनमा ३ लाख ७७ हजार खर्च विवरण सार्वजनिक गरेका छन् ।
उनले प्रतिबद्धता छपाइमा २४ हजार, नमुना मतपत्र छपाइमा ५३ हजार, समानुपातिक मतपत्र छपाइमा ३५ हजार, गाडिभाडा १५ दिनमा १ लाख ३५ हजार र अन्य खर्च पाँच हजार गरी कुल ३ लाख ७७ हजार निर्वाचन खर्च सार्वजनिक गरेका हुन् ।
एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं. १ (क) मा प्रदेशसभा उम्मेदवार रहेका धर्मराज रेग्मीले कुल ४ लाख २ हजारको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले प्रतिबद्धता पत्र छपाइमा ७५ हजार, नमुना मतपत्र छपाइमा ७९ हजार ५ सय, समानुपातिक मतपत्र छपाइमा ३७ हजार ५ सय, कार्यकर्ता व्यवस्थापनमा ५० हजार, झन्डा ब्यानरमा २५ हजार र गाडी भाडामा पन्ध्र दिनको १ लाख ३५ हजार गरी जम्मा ४ लाख २ हजारको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
दैलेख क्षेत्र नं. १ (ख) मा एमालेका तर्फबाट प्रदेशसभा उम्मेदवार बनेका प्रेम बहादुर थापाले ४ ला २७ हजार निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले प्रतिबद्धता पत्र छपाइतर्फ ७५ हजार, नमुना मतपत्र छपाई ७९ हजार ५ सय, समानुपातिक मतपत्र छपाइमा ३७ हजार ५ सय कार्यकर्ता व्यवस्थापनमा ५० हजार, गाडी भाडामा १ लाख ३५ हजार र अन्य खर्च पचास हजार गरी कुल ४ लाख २७ हजारको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
यस्तै, एमालेका तर्फबाट दैलेख निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बनेका लक्ष्मी प्रसाद पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा कुल ३ लाख १० हजारको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले झन्डा ब्यानरमा २० हजार, गाडिभाडामा १ लाख ३५ हजार, कार्यकर्ता व्यवस्थापनमा ८० हजार, मतपत्र छपाइमा गरी कुल ३ लाख १० हजारको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
एमालेकै तर्फबाट दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) का उम्मेदवार तिलक प्रसाद रिजालले प्रदेशसभा निर्वाचनमा २ लाखको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले कार्यकर्ता परिचालनमा २ लाख खर्च गरेको आफूले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेका छन् ।
एमालेकै तर्फबाट क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (ख) उम्मेदवार विनोद कुमार शाहले प्रदेश सभा निर्वाचनमा कुल २ लाख ९५ हजारको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले झण्डा ब्यानरमा २० हजार, मतपत्र छपाइतर्फ ९० हजार, गाडी भाडामा १ लाख ३५ हजार कार्यकर्ता व्यवस्थापनमा ५० हजार निर्वाचनमा खर्च भएको जानकारी गराएका हुन् ।
एमालेका तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवार बनेका ६ जनाले प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ दफा ७२ को उपदफा ४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ उपदफा ४ बमोजिम आफ्नो खर्च विवरण सार्वजनिक गरिएको जनाएका छन् ।











